औषधिको पत्ता तथा बट्टामा के-के लेखिन्छ ? प्रयोग गर्नेले थाहा पाउनुपर्ने कुरा

हामीले प्रयोग गर्ने औषधिको पत्ता, प्याकेट, बट्टा वा बट्टाभित्रको कागजमा धेरै महत्वपूर्ण जानकारीहरू हुन्छन् । यी जानकारीहरूले औषधि किन, कसरी, कहिले र कति मात्रामा प्रयोग गर्ने भन्ने कुरा बुझ्न मद्दत गर्छन् । त्यसैले औषधि प्रयोग गर्नुअघि यी विवरणहरू ध्यानपूर्वक पढ्ने बानी बसाल्न जरुरी छ।

यसमा औषधिको नाम, त्यसको ब्रान्ड नाम र रासायनिक (जेनेरिक) नाम हुन्छ । औषधिभित्र के-के पदार्थ (सक्रिय तत्व र सहायक तत्व) प्रयोग भएको छ भन्ने पनि उल्लेख हुन्छ । औषधि कुन प्रकारको हो- जस्तै एन्टिबायोटिक, दुखाइ कम गर्ने वा सुन्निएको कम गर्ने जस्ता कुरा पनि त्यहाँ उल्लेख गरिएको हुन्छ।

औषधि कसरी र कहिले खानुपर्छ, कति मात्रामा दिनमा कति पटक लिनुपर्छ, खाना अघि वा पछि लिनु उपयुक्त हुन्छ कि हुँदैन, र कति दिनसम्म चलाउनुपर्छ भन्ने सबै निर्देशन त्यही पत्तामा हुन्छ । साथै औषधि कुन समस्यामा प्रयोग गरिन्छ भन्ने जानकारी पनि पाइन्छ।

कसलाई यो औषधि प्रयोग गर्न नहुने, कुनै पदार्थमा एलर्जी भएको छ कि छैन वा शरीरले नसहने अवस्था छ कि छैन भन्ने चेतावनीहरू पनि उल्लेख गरिएका हुन्छन् । गर्भावस्था, स्तनपान, दीर्घरोग वा अन्य विशेष अवस्थामा के-कस्तो सावधानी अपनाउनुपर्छ भन्ने जस्ता अत्यन्त महत्वपूर्ण जानकारी पनि हुन्छ।

टिप्पणी छोड्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ