सम्भवत विश्वकै एक अग्लो उचाइमा, स्नातक र स्नातकोत्तर तहको फार्मेसी शिक्षा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विगत केही वर्षदेखि सञ्चालनमा ल्याएको छ। कर्णाली प्रदेशमा स्वास्थ्य सेवा सुधार र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनको एउटा नयाँ युग सुरु हुँदैछ। विगत चार वर्षदेखि सञ्चालनमा ल्याएको फार्मेसी कार्यक्रमबाट अब छिट्टै पहिलो ब्याचका योग्य र दक्ष फार्मासिस्टहरू स्वास्थ्य सेवा क्षेत्रमा प्रवेश गर्नेछन्। फार्मेसीसँगै प्रतिष्ठानमा चिकित्सक, नर्स, जनस्वास्थ्यसँग सम्बन्धित जनशक्ति उत्पादनका कार्यक्रमहरू पनि सञ्चालित छन्। यसले समग्र देशको स्वास्थ्य प्रणालीमा एक महत्वपूर्ण योगदान पुर्याउनेछ।
फार्मासिस्ट: स्वास्थ्य सेवाको अदृश्य नायक
फार्मासिस्टहरू केवल चिकित्सकले लेखेको औषधि वितरण गर्ने व्यक्तिहरू होइनन्। उनीहरू चिकित्सक र बिरामीबीच ज्ञानको पुल हुन्। औषधिको प्रभावकारी र सुरक्षित प्रयोग सुनिश्चित गर्न फार्मासिस्टले चिकित्सकलाई औषधिका विशेषता, सम्भावित दुष्प्रभाव, र विकल्पहरूको बारेमा महत्वपूर्ण सल्लाह दिने हैसियत राख्दछन्।




