आधुनिक चिकित्सा विज्ञानभन्दा हजारौं वर्ष पुरानो इतिहास बोकेको चिकित्सा प्रणाली हो आयुर्वेद । नेपालमा आयुर्वेदिक चिकित्सक उत्पादन गर्ने तथा केही आधारभूत कार्यक्रमहरू भएका छन् । तर, आयुर्वेदिक औषधिको गहिरो ज्ञानसहित उत्पादन, विक्री, वितरण र भण्डारणका लागि निपुण जनशक्ति उत्पादन हुन सकेका छैनन् ।
आयुर्वेदमा स्नातक तहको फार्मेसी गरेका केही जनशक्तिहरू नेपालमा दर्ता भए पनि तिनीहरू अधिकांशको पठनपाठन भारतमा हुन्छ । नेपालमा यस्ता कार्यक्रमहरू अहिलेसम्म उपलब्ध छैनन्।
नेपालमा सञ्चालन हुने आयुर्वेदिक कम्पनीहरूमा पनि एलोप्याथिक औषधि विज्ञान पढेका फार्मासिस्टहरू कार्यरत छन् । यदि उनीहरू आयुर्वेदको गहिरो ज्ञानसहितका जनशक्ति हुन्थे भने उत्पादित औषधिहरूको गुणस्तर अझ उच्च हुने थियो । सायद यही आवश्यकता महसुस गर्दै भारतमा आयुर्वेदिक फार्मेसीको पठनपाठन तीव्र गतिमा विस्तार भएको छ । यदि नेपालमै पर्याप्त दक्ष जनशक्ति उत्पादन हुन सकेको भए, वनस्पतिमा आधारित औषधिहरूको अनुसन्धान र उत्पादनमा पनि ठूलो प्रगति हुने थियो ।
नेपालमा सीटीज्ञईभीटीले सन् २०१८ मा डिप्लोमा तहको आयुर्वेदिक फार्मेसीका लागि पाठ्यक्रम निर्माण गरेको थियो, तर अहिलेसम्म कुनै कार्यक्रम सञ्चालनमा आएको छैन। नेपालको राष्ट्रिय स्वास्थ्य नीति (सन् १९९५, संशोधित २०१९) ले परम्परागत स्वास्थ्य प्रणालीलाई राष्ट्रिय स्वास्थ्य सेवामा समावेश गर्ने लक्ष्य राखेको छ ।




