नेपाललाई विज्ञान र नवप्रवर्तनको केन्द्र बनाउने उद्देश्यसहित युनेस्कोको लर्निङ प्लानेट इन्स्टिच्युडको मञ्चमा दीर्घ रिसर्च ग्रुपले एक उच्चस्तरीय संवाद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्राध्यापक डा. राजेन्द्र ध्वज जोशी प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो। 

कार्यक्रममा देशका विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा विद्यार्थीहरू सहित दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुनिल कुमार जोशी समेत गरी करिब ६० जनाको उपस्थिति रहेको थियो। नयाँ विश्वविद्यालयको उपकुलपति बनेपछि डा. राजेन्द्र ध्वज जोशीको प्रस्तुति सुन्दा उहाँको बाटो पछ्याउन प्रेरणा मिलेको कुरा उपकुलपति डाक्टर सुनिलले व्यक्त गर्नुभयो। 

कार्यक्रम सञ्चालिका निशा अधिकारीले प्रमुख वक्ता डा. जोशीको शैक्षिक यात्रा, अनुसन्धान अनुभव, विश्व बैंकसँगको सहकार्य तथा विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा उहाँले हासिल गर्नुभएको अनुभव समेट्दै हाल नेपालमा उहाँले गरिरहनुभएको गतिविधिबारे विस्तृत परिचय प्रस्तुत गर्नुभयो। 

देश विकास विश्वविद्यालयको भूमिका 

डा. जोशीले करिब एक घण्टा लामो पावरपोइन्ट प्रस्तुतिमा देश विकासको जिम्मेवारी सबै नागरिकले लिनुपर्नेमा जोड दिनुभयो। यो देश बनाउने मेरो काम हो भन्ने भावनाको विकास नभएसम्म समृद्धि सम्भव नहुने उहाँको भनाइ थियो। विश्वका सम्पन्न र शक्तिशाली राष्ट्रहरूमा अनिवार्य रूपमा विश्वका शीर्ष १०० भित्र पर्ने विश्वविद्यालयहरू रहेको उदाहरण दिँदै उहाँले राम्रो विश्वविद्यालयबिनाको देश विकास असम्भव भएको स्पष्ट पार्नुभयो। उहाँले कोकाकोलाजस्ता एकल कम्पनीको आम्दानी नै नेपालको सन् २०२०/२१ को कुल गार्हस्थ उत्पादनसँग तुलना गर्दै, नेपाल धेरै बहुराष्ट्रिय कम्पनीहरूको आम्दानीभन्दा पनि निकै पछाडि रहेको यथार्थ प्रस्तुत गर्नुभयो। 

सहभागितामूलक सन्तुलित विकास 

दिगो विकासका लागि सहभागितामूलक विकास अनिवार्य रहेको बताउँदै डा. जोशीले विकासबाट प्राप्त उपलब्धि सबै नागरिकमा समान रूपमा वितरण हुनुपर्ने धारणा राख्नुभयो। राम्रो विश्वविद्यालयले राम्रो प्रविधि उत्पादन गर्ने, त्यो प्रविधिले उद्योग र कम्पनीलाई सहयोग पुर्‍याउने र अन्ततः देश समृद्ध हुने स्पष्ट मार्गचित्र उहाँले प्रस्तुत गर्नुभयो। 

ज्ञानको विश्व (Universe of Knowledge) का सन्दर्भमा उहाँले मानवले सिर्जना गरेका कला, मानवशास्त्र र समाजशास्त्र तथा प्रकृतिबाट विकसित विज्ञान, प्रविधि र इन्जिनियरिङ दुवैको सन्तुलित प्रयोग आवश्यक रहेको बताउनुभयो। विज्ञान मात्र पर्याप्त नहुने र मानविकी तथा सामाजिक विज्ञानसँग जोडिँदा राजनीतिक नेतृत्वलाई पनि सहज रूपमा बुझाउन सकिने उहाँको तर्क थियो। 

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय : आशाको किरण 

डा. जोशीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई नेपालका लागि “आशाको किरण”को रूपमा प्रस्तुत गर्नुभयो। विश्वविद्यालयको ऐन पास नहुँदै कर्मचारी परिचालन, जग्गा प्राप्ति र भवन निर्माण सुरु गरिएको स्मरण गर्दै राम्रो कामका लागि साहस आवश्यक हुने बताउनुभयो। 

नेपालकै इतिहासमा छोटो समयमै-झन्डै एकदेखि दुई वर्षभित्र-ठूला भवन निर्माण, करोडौँ मूल्यका उपकरण जडान र बहुउपयोगी अनुसन्धान प्रयोगशाला स्थापना गरिएको उहाँले जानकारी दिनुभयो। साथै विश्वविद्यालयकै प्राङ्गणमा सोलारबाट उत्पादन भइरहेको बिजुली बिक्री पनि गरिरहेको बताउनुभयो। विश्वविद्यालयलाई विश्वस्तरीय बनाउनु नै आफ्नो एकमात्र लक्ष्य रहेको बताउँदै त्यसका लागि तीन मुख्य आधार प्रस्तुत गर्नुभयो-कडा परिश्रम, भ्रष्टाचारप्रति शून्य सहनशीलता दलीय राजनीतिकरणको अन्त्य। 

विश्वविद्यालय शासन स्वायत्तता 

अहिलेका धेरै विश्वविद्यालय कमजोर हुनुको कारण राजनीतिक हस्तक्षेप रहेको बताउँदै उहाँले विश्वविद्यालय सञ्चालनका लागि बोर्ड अफ ट्रस्टी गठन गर्नुपर्ने र त्यसको नेतृत्व गैरसरकारी व्यक्तिले गर्नुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री उपकुलपति हुने व्यवस्था तत्काल हटाउनुपर्ने उहाँको माग थियो। 

विश्वविद्यालय विज्ञ उत्पादन गर्ने केन्द्र भएकाले यसलाई विज्ञहरूले नै चलाउनुपर्ने र कुनै पनि प्रकारको भागबण्डा अस्वीकार्य हुने उहाँको भनाइ थियो। उदाहरणस्वरूप, कोरियाको काइस्ट विश्वविद्यालयका ८९ वर्षीय पूर्व अध्यक्ष आफ्नो विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीमा रहेको र थुप्रै विदेशी विज्ञहरू पनि आबद्ध रहेको जानकारी दिनुभयो। 

सीमित स्रोत, उल्लेखनीय प्रगति 

सरकारबाट अपेक्षित सहयोग नपाए पनि प्रारम्भिक रूपमा केवल ५६ लाख रुपैयाँबाट सुरु गरिएको विश्वविद्यालयमा हालसम्म करिब २ अर्ब ३० करोड रुपैयाँ लगानी भइसकेको डा. जोशीले बताउनुभयो। हाल मास्टर र पीएचडी कार्यक्रमहरूमा ६६ जना विद्यार्थी अध्ययनरत छन्। कर्मचारीहरूलाई दैनिक ज्यालादारी प्रणालीमा राखिएकाले “काम गरे मात्र खान पाइन्छ” भन्ने संस्कार विकास भएको उहाँले उल्लेख गर्नुभयो। अर्गानिक कृषि, वन, बायोमेट्रिक्स जस्ता क्षेत्रमा काम गर्दा विश्वविद्यालयले छोटो समयमै उल्लेखनीय छलाङ मारेको बताउनुभयो। 

हालसम्म ६६ जना विद्यार्थीका लागि झन्डै ४ करोड २० लाख रुपैयाँ छात्रवृत्तिमा खर्च गरिएको र यही माघ २५ गते विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह आयोजना हुने जानकारी पनि उहाँले दिनुभयो। 

सुधारका लागि सुझाव सरोकार 

कृषि तथा वन विश्वविद्यालयका प्राध्यापक हिमाल लुइटेलले आफ्नो विश्वविद्यालयमा प्राध्यापक नियुक्तिमा दलीय भागबण्डा हुने गरेको अनुभव सुनाउँदै डा. जोशीको प्रयास देखेर आफू अचम्मित भएको प्रतिक्रिया दिनुभयो। 

डा. जोशीले देशले तत्काल गर्नुपर्ने सुधारका रूपमा सम्बन्धन प्रणाली बन्द गर्नुपर्ने, पूर्ण स्वायत्त विश्वविद्यालय स्थापना गर्नुपर्ने र भारतको जस्तो डिम्ड विश्वविद्यालय नभई वास्तविक स्वायत्त विश्वविद्यालय आवश्यक रहेको बताउनुभयो। आफ्नो विश्वविद्यालयमा सीमित विद्यार्थी संख्या राख्ने नीति रहेको उल्लेख गर्दै, विद्यार्थी संख्या भन्दा पनि उनीहरूले समाजलाई दिएको योगदान नै मुख्य मापदण्ड हुने स्पष्ट पार्नुभयो। 

विदेशी विद्यार्थी नेपालमा पढ्न इच्छुक भए पनि भिसा नियमका कारण समस्या भइरहेको बताउँदै, हालको जटिल प्रक्रिया सरल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। 

गुणस्तर सुनिश्चितता शैक्षिक स्वतन्त्रता 

गुणस्तर सुनिश्चितता तथा एक्रिडेसनका लागि विश्वविद्यालय अनुदान आयोगले अनुदान वितरण गर्ने भूमिकाबाट अलग भई पूर्ण स्वतन्त्र निकाय गठन गर्नुपर्ने धारणा उहाँले राख्नुभयो। आफैँ एक्रिडेटेड नभएका विश्वविद्यालयले सम्बन्धन दिएका कलेजलाई एक्रिडेट गर्नु अर्थहीन हुने भन्दै, ती कलेजलाई नै विश्वविद्यालय बनाउनुपर्ने सुझाव दिनुभयो। 

विदेशी डिग्रीको समकक्षताका विषयमा सहभागीहरूले भोगेको समस्यामा प्रतिक्रिया दिँदै, यस्तो प्रक्रिया त्रिभुवन विश्वविद्यालय वा यूजीसीले नभई आवश्यक परेमा सम्बन्धित विश्वविद्यालयले नै गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य प्रतिष्ठानलाई एकीकृत गर्ने भन्दै ल्याउन खोजिएको केन्द्रीय छाता ऐन, विश्वविद्यालयमा कर्मचारी तथा प्राध्यापकको नियुक्तिको एकद्वार प्रणाली जस्ता प्रस्तावहरू औचित्यहीन भएको उहाँको निष्कर्ष थियो। शैक्षिक संस्थालाई पूर्ण स्वायत्तता नदिइकन शिक्षा क्षेत्रको दिगो विकास सम्भव नहुने उहाँले स्पष्ट पार्नुभयो। 

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज 

कार्यक्रमका संयोजक उपप्राध्यापक डा. दीर्घराज जोशीले नेपाललाई विज्ञान र नवप्रवर्तनको केन्द्र बनाउने प्रस्ताव युनेस्कोको लर्निङ प्लानेट इन्स्टिच्युड समिटमा प्रस्तुत गर्दा स्वीकृति पाएकोमा आभार व्यक्त गर्नुभयो। यस पहलले अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपाल केन्द्र बन्न सक्छ भन्ने सन्देश पुगेको बताउँदै, नेपाल प्रथम, मेरो देश-मेरो जिम्मेवारीको भावनाका साथ सबै आ-आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

=