औषधि हाम्रो जीवनको पर्याय हो । कुनै स्वास्थ्य समस्या हुनेबित्तिकै हामी स्वास्थ्य संस्थामा पुगेर जाँच गरी औषधि ल्याएर खान्छौँ । नभए एक नजिकैको औषधि पसलमा पुगिहाल्छौँ, औषधि किन्न । दीर्घरोगका कारण हरेक दिन औषधि खानेको संख्या पनि ठूलो छ । लगभग सबैले धेरथोर औषधिको प्रयोग गर्नेगर्छन् ।
वर्षौँदेखि औषधि प्रयोग गर्दै आएपनि धेरैलाई यसबारेका जान्नै पर्ने कुराको ज्ञान नहुन सक्छ । औषधिलाई सही तरिकाले प्रयोग गर्न, यसको प्रभावकारिता कायम राख्ने केही ज्ञानहरू आवश्यक छ ।
औषधिबारे जान्ने पर्ने कुराहरू
१. कतिपय सामान्य स्वास्थ्य समस्यामा औषधिको जरुरी नहुन सक्छ । योग्य स्वास्थ्यकर्मीको सल्लाहबिना औषधि लिनुहुँदैन। औषधि खाएर मात्रै रोग निको हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । विश्वमा १० हजार बढी दुर्लभ रोगहरू माथि अध्ययन भएको छ । तर, केवल ५ प्रतिशत जतिको मात्रै अहिलेसम्म उपचार छ । प्रत्येक व्यक्तिको फरक शारीरिक अवस्था र स्वास्थ्य समस्या हुने भएकाले, चिकित्सकले बिरामीको अवस्था अनुसार औषधि लेखिदिन्छन् । त्यसैले उस्तै समस्या देखियो भन्दैमा अरूको औषधि प्रयोग गर्नुहुँदैन ।
२. औषधिको प्रयोग गर्ने समय र मात्रा पालना गर्नुहोस्। पुरानो प्रेस्क्रिप्सनबाट औषधि नलिनुहोस् । यदि तपाईंसँग पहिलेबाटै केही औषधिहरू छन् र त्यसलाई प्रयोग गर्न चाहनुहुन्छ भने, डाक्टर वा फार्मासिस्टसँग परामर्श गर्नुहोस् । प्रेस्क्रिप्सन आवश्यक पर्ने औषधि आफैं परिवर्तन नगर्नुहोस्।




